काठमाडौ। अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा भएको एक आतंककारी हमलामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । हमलाकारीले साइकल लेन र पैदल यात्रुको बाटोमा साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएको न्युयोर्क प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शिहरुलाइ उधृत गर्दै संचारमाध्यमहरुले हमलाकारीले अरेबीक भाषामा धार्मिक नारा लगाएको उल्लेख गरेका छन् । आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् र हमलाकारीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरीले २९ बर्षिय ट्रक चालक सेफुल्लो साइपोभलाई गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ परेका चालक आप्रवासी भएको र उनी सन् २०१० मा अमेरिका प्रवेश गरेको जनाइएको छ।

यसैबीच न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले यो घटनालाई क्रुर आतंकवादी हमलाको संज्ञा दिँदै घटनाबारे सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन् । साथै उनले शोक संतप्त परिवारप्रति धैर्य धारण गर्न अपील गरेका छन्।

ट्रक चालकको आतंकवादी संस्थाहरुसँगको संलग्नता र नियतबारे अनुसन्धान जारी छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि घटनाको निन्दा गरेका छन् । (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक १५ गते बुधवार ।