Donald Trump 3काठमाडौ। नेपालको संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्।

“यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्”, राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ।

गत साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनःनिर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको बताइएको छ।

“सबैभन्दा महत्वपूर्ण कुरा त, तपाईँहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईँहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुंगा हो”, सन्देशमा भनिएको छ।

हाम्रा साझा सिद्धान्तहरूप्रतिको नेपालको प्रतिबद्धताका लागि धन्यवाद दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिमा सहयोग कायमै रहेको दोहोर्याएका छन्।
प्रकाशन मिति–२०७४ साल असोज ३ गते मंगलवार ।