काठमाडौ। इराक र इरानको सीमावर्ती क्षेत्र इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३९६ जनाको मृत्यु हुनुका साथै हजारौं मानिसहरु घाइते भएका छन्।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। भूकम्पपछि इराक र इरान दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ। एक इरानी सहायता संस्थाले भूकम्पपछि त्यहाँको विद्युत् र सन्चार सेवा अबरुद्ध भएको उल्लेख गर्दै तत्काल करिव ७० हजार मानिसहरुलाई आवास आवश्यक रहेको बताएको छ।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेको बीबीसीले उल्लेख गरेको छ। इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ। भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको बताइएको छ।

भूकम्पले कैयौं घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् । इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका आठओटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै, अरु पनि कैयौं गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सन्चार सेवा अवरुद्ध छ । भूकम्पले बाटोमा समेत क्षति पुगेको छ।

बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ ।भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन्। बारम्बारको पराकम्पनले उनीहरूमा त्रास फैलिएको बताइएको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक २७ गते सोमवार ।