काठमाडौ। नेपालको प्रतिष्ठित बाणिज्य बैंक एनआइसी एशिया बैंकबाट तिहारमा ह्याक गरेर स्थानान्तरण भएको ४० करोड रकम मध्येवाट विदेशी बैंकहरुले सोमवारबाट फिर्ता पठाउन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

NiC Asia Bank

विदेशी बैंकले कसैलाई सारिएको रकम भुक्तानी दिइसकेको अवस्थामा भने फिर्ता ल्याउन गाह्रो हुन सक्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । ह्याकरले विदेशका ६ बैंकमा एनआइसी एशियाबाट रकम स्थानान्तरण गरेको नेपाल राष्ट्र बैंकले बताएको छ।

‘तिहारमा २–३ दिन सर्भर डाउन भयो भनेर बसेका थियौं तरपछि ह्याक भएको भन्ने खबर आएको छ, आजबाट पुनः त्यो सर्भरमा काम गर्न सकिएको छ,’ एनआइसी एशिया बैंकका एक कर्मचारीले बताएका छन्। बैंकले भने यसले सर्वसाधारण ग्राहकलाई कुनै असर नपर्ने र रकम समेत फिर्ता हुन लागेकोले बैंकलाई समेत यसले असर नपर्ने बताएका छन् ।

आन्तरिक भन्दापनि स्वीफ्ट प्रणालीको प्रयोगवाट बिभिन्न देशका बैंकहरुबीच रकम स्थानान्तरणमा हुने गरेको छ। ‘हाल २ सय देशका ११ हजार संस्थाले स्वीफ्ट प्रणालीको प्रयोग गर्छन्, यो प्रणाली त्यति कमजोर भने मानिदैन,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले भनेका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्थासँग प्रणाली सर्तकता सम्बन्धमा सोमवार छलफल समेत चलाएको छ। एनआइसी एशियामा ह्याक भएसंगै बैंकर्स एशोसिएशनले पनि सदस्य बैंकहरुलाई यसमा सर्तकता अपनाउन भनेको छ। हाल नेपालका अधिकांश वाणिज्य बैंक र केही विकास बैंकहरुले यो प्रणालीको प्रयोग गर्दैआएका छन् ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ६ गते सोमवार ।