Hongkong Newar Samajकाठमाडौ। हङकङ नेवार समाजको पहलवाट हङकङमा नेपालकी सरिता महर्जनको स्वास्थ्य उपचारका लागि ५ लाख रुपैँया संकलन भएको छ। काठमाडौ लगनटोलकी २४ वर्षीया सरिता महर्जनले कलेजोको क्यान्सरवाट पीडित आफ्नो बिरामी बुबालाई कलेजो दान दिएकी थिइन्।

बुवालाई कलेजो दिएपछि सरिताको स्वास्थ्य अवस्थामाथि प्रभाव परेको भन्दै हङकङ नेवार समाजले हङकङमा आर्थिक संकलन सुरु गरिएको समाजकी अध्यक्ष रचना प्रधानले भिजन संसारलाई भनेकी छन्। जसमा हङकङका नेपालीहरुले उत्साहजनक सहभागिता जनाएर सहयोग गरेकोले नगद ५ लाख रुपैया संकलन भएको अध्यक्ष प्रधानले जानकारी दिएकी छन्।

त्यस रकमलाई नेपालमा विहीवारसम्म हङकङ नेवार समाजका नेपालस्थित प्रतिनिधिले सरिता महर्जनको लगनटोलस्थित घरमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष प्रधानले बताएकी छन्। सरिताकी आमाको पनि दुवै मृगौला फेल भएको कारण पीडामाथि थप पीडा भएको छ। यस पीडाको घडीलाई मध्यनजर गरेर हङकङमा सहयोग गर्ने सवै नेपालीहरुलाई अध्यक्ष प्रधानले धन्यवाद ज्ञापन गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र २८ गते बुधवार ।