Manipal_Teaching_Hospital Pokhara.
Manipal_Teaching_Hospital Pokhara.

काठमाडौ। मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण सोधेको छ।

पत्र बुझेको २४ घन्टाभित्र स्पष्ट कारण र आधारसहित स्पष्टीकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ । संविधानको धारा ३५ उपधारा १ मा ‘प्रत्येक नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन’ भन्ने संवैधानिक व्यवस्था विपरीत त्यहाँका चिकित्सकले घाइतेलाई आकस्मिक सेवा नदिएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ।

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउँमा बन्द, हडताल गर्न नपाईने भएकाले उनीहरुले कानुनको उल्लङ्घन गरेको मन्त्रालयको ठहर छ । संवैधानिक तथा कानुनी दायित्व उल्लङ्घन गरेकाले त्यस संस्थालाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले मणिपाल शिक्षण अस्पताललाई स्पष्टीकरण पत्र पठाएको छ।

प्रकाशन मिति–२०७४ साल बैशाख १० गते आइतवार ।