अङ्करा । टर्कीको प्रमुख रिसोर्ट बोदरुम नजिकै आएको भूकम्पमा परी कम्तीमा ३ सय ६० जना घाइते भएका छन् । टर्कीको एगेन नजिकै ६.७ म्याग्नीच्युडको भूकम्प गएको टर्कीका स्वास्थ्य मन्त्रीले शुक्रबार खुलासा गरेका छन्। स्वास्थ्य मन्त्री अहमेट डेमिर्कानले रिसोर्टमा ३५८ जना रहेकोमा २७२ जनालाई एम्बुलेन्समा अस्पताल लगिएको बताएका छन् । अरु भने आफ्नै घर गएको पनि उनको भनाइ छ।

Tarki Earthquake

स्वास्थ्यमन्त्री डेमिर्कानले २५ जनालाई शरीरका विभिन्न भागका हाड तथा मांसपेशीमा गहिरो चोटका कारण उपचारका लागि अहिले पनि अस्पतालमा रहेको जानकारी दिएका छन् । तर उनीहरु खतरामुक्त रहेकोे उनले भनेका छन् । रातभरी आएको भूकम्पका क्रममा डराएर भवनका झ्यालहरुबाट हाम फाल्दा उनीहरु घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

अस्पतालको भवन पनि क्षतिग्रस्त भएकाले वरिपरी राखेर उनीहरुको उपचार भइरहेको जिल्लाका गभर्नर बेकिर यिल्माजले जानकारी दिएका छन् । कोसमा रहेको ग्रीक टापुमा एक जना स्वीडेन नागरिक र एक जना टर्कीका नागरिकको मृत्यु भएको छ । टर्कीका विदेशमन्त्रीले स्थानीय बाणिज्य दूतावासले उनीहरुको मृत्यु भएको पुष्टि गरेका छन्। अर्को एक टर्कीका नागरिक सिकिस्त घाइते रहेको पनि बाणिज्य दूतावासले जनाएको छ।

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तव्यको रूपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको हो । टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०.३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ । गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए । रासस/एएफपी
प्रकाशन मिति–२०७४ साल साउन ६ गते शुक्रबार ।