काठमाडौ। मौनतामा अल्झेको त्यो मन अनि अनिन्द्राको शिकार। त्यो निर्दोष अनुहार। दिन त्यसै ढल्छ। रात वित्नै कठिन। शायद सरुभक्तको पागल बस्तीको त्यो पात्र हो। जो आफैभित्रको अनिन्द्रावाट पर भाग्न नसकेर पागल बनिरहेकी छन्। आम मानिस जस्तै मस्तले सुत्ने त्यो चाहना अझै मरेको छैन्। मस्तले सुत्नका लागि कयन प्रयासमा लागेका अनिन्द्राका शिकारहरुको कतै संगठन बनेमा झट्टै सदस्य बन्न बेर नमान्ने काठमाडौ सामाखुशी बस्तीको एक पात्रको नाम हो–सिर्जना थापा बस्नेत।

जो हरदम जिन्दगीलाई नयाँ ढंगवाट सोचेर नयाँ बनाउने कोशिशमा रहेकी छन्। कला र कलाकारितावाट जीवनलाई उज्यालो बनाउने हरदम प्रयासमा हर कोशिशमा छिन्। त्यो प्रयासमा परिवार, समाज र देशलाई नै सकारात्मक गन्तव्यमा लाने योजना उनको रहेको छ। तर, यो जुनीमा सफल हुने हो या होइन भनेर उनी आफैले आफूलाई अनेक प्रश्न गर्ने गर्छिन्। शायद उनीभित्रको डरको भूतले अझै सताइरहेको प्रतित हुन्छ। रंगमंचिय नाटकका राम्रा कलाकार। जस्तोसुकै कठिन भन्दा कठिन अभिनयलाई जीवन्त दिन सक्ने अभिनेत्री हुन्–सिर्जना थापा बस्नेत।

दुई दशकअगाडिवाट अनवरत नाटक भनेपछि हुरुक्क हुंदैआएको त्यो मनलाई सिर्जनाले मार्न सकेकी छैनन्। जस्तोसुकै व्यवधान तथा बेफुर्सदीलाई पनि गोली मारेर नाटकको अभिनयका लागि मर्न पनि तयार हुने यी अभिनेत्रीले दर्जनौ दर्जन नाटकहरुमा कयन भूमिकामा अनेक पात्र बनेर अभिनय गरिसकेका छन्। कतिपय रंगमंचका नाटकलाई बेहिसाव माया गरिरहेकी सिर्जना अचेल धेरै रेडियो नाटकहरुमा अभिनय गर्न अत्यन्त व्यस्त बनेकी छन्।

हरेक हप्ताको शनिवार अरु फुर्सदमा बस्छन्। सिर्जनालाई भने रेडियोमा नाटक रेकर्ड गर्न जान भ्याइँनभ्याइँ हुन्छ। प्रत्येक शनिवार रेडियो नाटकमा अभिनय गर्ने कार्यलाई निरन्तरता दिदैआएको भिजन संसारलाई सुटुक्कै भनेकी छन्। दुईदशक अगाडि जस्तो चलचित्र तथा टेलिचलचित्रमा त्यतिधेरै अभिनय गर्ने कार्यलाई चटक्कै छाडेपनि विभिन्न गीतका भिडियोमा टाइम मिलाएर अभिनय गर्ने कार्य उनीवाट हुंदैआएको छ। पुन्यम प्रधानको पछिल्लो गीतको भिडियोमा उनले अभिनय गरेकी छन्।

अभिनयकर्मलाई निरन्तरता दिदैजाने उनको सोच तथा प्रतिवद्धता रहेको छ। अवधि भाषा तथा भोजपुरी भाषाका ज्ञाता समेत रहेकी उनले अवधि भाषाको टेलिफिल्ममा अभिनय पनि गरेकी छन्। नेपाली, नेवारी, भोजपुरी, अवधि तथा अंग्रेजी यी भाषामा अभिनय गर्न कुनै गाह्रो छैन्। मज्जाले गर्न सक्छु भन्छिन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २० गते सोमवार ।