Police Hawaldar -Durga-Bahadur-Rana
Police Hawaldar -Durga-Bahadur-Rana

काठमाडौ। दोश्रो चरणको स्थानीय निर्वाचनमा आफ्नो ज्यानको परवाह नगरिकन सर्वसाधरणको ज्यान जोगाउने एक प्रहरी हवल्दारको आँट तथा साहसको कदर हुने भएको छ।

बुधवार दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ। गृहमन्त्री जर्नादन शर्माले टेलिफोन गरेर रानालाई बधाई दिदै आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन सहयोग गर्ने रानालाई पुरस्कृत गर्ने बताएका छन्।

गृहमन्त्रीका प्रेस संयोजक लक्ष्मी पुनका अनुसार, चुनाव प्रभावित गर्ने गरी दाङ तुल्सीपुरको अम्बास मतदान केन्द्रमा सर्वसाधारणमाथि प्रहार गरिएको बम हवल्दार रानाले भुइँमा खस्ने बित्तिकै समाएर जंगलतिर फ्याकेका थिए।

जंगलमा फ्याक्ने बित्तिकै बम विस्फोट भएको थियो । हवल्दार रानाले बम विस्फोट हुनबाट रोकेर सर्वसाधारणको जीवनसमेत बचाएपछि गृहमन्त्रीले पुरस्कृत गर्ने घोषणा गरेका हुन्।
प्रकाशन मिति–२०७४ साल असार १४ गते बुधवार ।