Nirwachan Ayogकाठमाडौ। यही असार १४ गते हुन गैरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामामा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण निर्वाचन आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले बताएका छन्।

निर्वाचित हुनेहरु १५ जिल्लाका जनप्रतिनिधि भएको आयोगले जनाएको छ । निर्विरोध हुनेमा नेपाली काँग्रेस र नेकपा एमालेका १४–१४ तथा नेकपा माओवादी केन्द्रका १० जना रहेका छन्। निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका वडा नं ५ का धनञ्जय बोहोरा रहेका छन् । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको विवरण आयोगले प्राप्त गरेको जनाएको छ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा भई १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ। निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ। दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन्। आयोगले छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ।
प्रकाशन मिति–२०७४ साल असार ९ गते शुक्रबार ।