काठमाडौ। असारको मासमा नेपालमा विशेष गरेर पहाडी तथा तराईका जिल्लामा बाढी–पैह्रो तथा भूक्षयको कारण प्रत्येक बर्ष जस्तो विनाश हुंदैआएको छ। यो बर्षको बर्षासंगै नेपालका विभिन्न जिल्लामा यस्तै समस्याले आक्रान्त पारेको छ। काठमाडौ नजिकको धादिङ्ग जिल्लाको रि गाविस–९ चेप्राङ्गमा बर्षासंगै आएको पहिरोको कारण ६ घरका १९ जना स्थानिय विस्थापित बन्न बाँध्य भएका छन्।

Nuwakot Bridge

धादिङ्ग प्रहरीका अनुसार भूकम्पले घर भत्काएपछि अस्थायी टहरमा बस्दैआएका उनीहरु पहिरो गएपछि बुधवार गएराति ११ बजे नै भागेर नजिकको सुरक्षित स्थानमा बस्न पुगेका छन्। त्यसैगरेर नुवाकोटाको तुप्चे गाविस स्थित सलाखु खोलामा आएको बाढीले त्यहाँको पक्की पुल भत्काएपछि पाँच गाविससंगको यातायात संपर्क विच्छेद भएको छ।

पुल भत्किएपछि खाद्य सामाग्री ढुवानी गर्न र गाउंमा उत्पादित सामाग्री बजारसम्म लान नसकिएको स्थानियको भनाई रहेको छ। गोरखामा भने गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौंजा–१ का १ सय १३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन्।

गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पुर्‍याएपछि गाउँलेले टहरा छाडेर स्थानीय जंगलको खालीचौरमा बस्दै आएका छन्। गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले केरौंजा–४ को पूरै बस्ती बगाएको थियो।
प्रकाशित मिति–२०७३ साल असार १६ गते विहीवार ।