काठमाडौ।नेपालका होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ। नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन्। यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए।

us_dollar

राससका अनुसार, होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह डलर सटही सुविधाले होेटललाई सेवा सम्पादन तथा पर्यटक पाहुनाका लागि सहज हुने बताएका छन्। उनले रकमको हिसाबले थोरै देखिए पनि नीतिगत सुरुवात भएको र यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन थप पहल गरिने बताए। होटलले अहिलेसम्म ग्राहकलाई सटही सुविधा नदिए पनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुविधा दिँदै आएका थिए । अब भने होटलमा बसेका ग्राहकलाई थोरै डलर भए पनि बैङ्क वा मनी एक्सचेञ्जमै गएर साट्नुपर्ने बाध्यता हटेको छ।

मौद्रिक नीतिअनुसार इजाजत प्राप्त होटलले आफ्नो सेवा बिक्री गर्दामात्र सटही दिन सक्ने व्यवस्था रहेकामा अब उप्रान्त होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरिनेछ । भारत भ्रमणमा जानेलाई भारु एक लाखसम्म नगद प्रदान गर्ने व्यवस्था रहेकामा बिरामीबाहेक अन्य विभिन्न प्रयोजनका लागि जाँदा भारु ५० हजारभन्दा बढीको सटही सुविधा लिनुपर्दा अनिवार्य रुपमा कार्ड वा बैङ्किङ उपकरणमार्फत सटही प्रदान गर्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको छ।

विदेशी मुद्रा सटही सम्बन्धमा अनौपचारिक कारोबारलाई नियन्त्रित गर्ने प्रयोजनका लागि प्रचार–प्रसार बढाउँदै देशका पर्यटकीय तथा मुद्रा सटही कारोबार हुने विभिन्न स्थानमा विदेशी मुद्रा इजाजतप्राप्त संस्थाबाट मात्र साट्नु पर्ने व्यवस्थालाई प्रभावकारी बनाउने जनाइएको छ ।
प्रकाशन मिति–२०७४ साल असार २७ गते मंगलवार ।