नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरेका छन्।

काठमाडौ। नेपाल प्रहरीको काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरेका छन्।

सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी उनीहरुका आफन्त, आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले भनेको छ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेलले दिउँसो एक देखि ३ बजेसम्म ओपिडी सेवा सर्वसाधारणका लागि दिइने बताएका छन्। उनले अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्याथोलोजी, ल्याब, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने बताएका छन्।

प्रहरी अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को पर्चा काट्नुपर्छ । औषधि, भर्ना हुने बिरामीका लागि खाना कसरी के गर्ने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टुंगो लगाउने बताइएको छ। तत्कालका लागि आठ शैय्या आकस्मिक बिरामीका लागि, १०/१० शैय्या महिला पु्रुषका लागि र ४ शैय्या शल्यक्रियापछि राख्नका लागि छुट्याइएको छ।

विस २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरी अस्पताल आम नागरिकका लागि खुल्ला गर्ने निर्णय गरेको थियो। यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीर परिवारलाई मात्र सेवा दिँदै आएको थियो।

उक्त अस्पतालमा दैनिक ५०० देखि हजार बिरामीले बहिरङग विभागमा उपचार गराउँदै आएका छन् भने १५० बिरामीले भर्ना भएर उपचार सेवा लिन्छन्। अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालहरुमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २६ गते आइतवार ।