काठमाडौ। जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन्। पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन्। सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरिएपछि उनले राजीनामा दिएको हो।


महाभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसद्का नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले भनेका छन्। राजीनामाको कारण ‘जिम्बावे जनताको भलाइ’ र ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ भनिएको छ। राष्ट्रपति मुगाबेको राजीनामाको खुशीयालीमा लाखौं नागरिक सडकमा उत्रिएका छन्।

पदमा रहँदा जिम्बाबेलाई बेलायतबाट स्वतन्त्र बनाई त्यहाँका जनतालाई राहत दिलाएका राष्ट्रपति मुगाबे बिरुद्ध पछिल्लो समय विवादमा परेका थिए । उनले श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेपछि त्यहाँको सेना र नागरिक विरोधमा उत्रिएका थिए। सेनाले शक्ति हातमा लिँदै ९३ वर्षीय मुगाबेलाई घरमै नजरबन्दमा राखेको थियो।

त्यसपछि सत्तारुढ दल जानु पीएफले राष्ट्रपति मुगाबेलाई दलको नेताबाट समेत बर्खास्त गरेको थियो । पार्टीले पूर्व उपराष्ट्रपति इमर्सन नान्गाग्वालाई पार्टीको नेतामा नियुक्त गर्नुका साथै मुगाबेकी पत्नी ग्रेसलाई समेत पार्टीबाट निकालेको थियो।(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर ६ गते बुधवार।