काठमाडौ। पेट्रोल पम्पसंगै मोटरसाइकल वर्कसप संचालन गर्नु र गराउनु अत्यन्त घातक हुने गर्दछ। यसो भएतापनि काठमाडौको त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्प परिसरमा बेरोकटोक वर्कसप संचालनमा आइरहेको छ। सोही वर्कसपमा आज विहीवार अचानक आगलागी हुंदा त्यहाँ भयावह स्थिति नै सिर्जना भएको थियो। जसको कारण एकजनाको ज्यान समेत गएको प्रहरीले जनाएको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोर परिसरभित्र रहेको वर्कसपमा बिहीबार साँझ आगोलागी भएको हो। आगलागीमा बारा, कलैयाका २० वर्षीय मुलायम आलमको घटनास्थलमै जलेर मृत्यु भएको हो । आगलागीबाट १२ वर्षीय अजित अन्सारी र २५ वर्षीय अवीर अन्सारी घाइते भएका र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आयल स्टोरभित्रै रहेको वर्कसपमा चुरोटबाट सल्केर आगलागी भएको पनि प्रहरीले भनेको छ। आगलागीबाट पेट्रोलपम्पमा केही नभए पनि वर्कसप रहेको कोठाको ‘अन्डरग्राउन्ड’मा भने पेट्रोल भन्डारण गरिएको पाइएको छ। आगलागीबाट ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

दमकल समयमै पुगेको र आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट बचेको हो । उक्त पेट्रोलपम्प विनोद जाजोडिया अग्रवालको भएको र पम्पको परिसरमै मोटरसाइकल ग्यारेज सन्चालन गरेर लापरबाही गरेको पाइएकोसमेत प्रहरीले भनेको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक २३ गते विहीवार ।