काठमाडौ। भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएसँगै हरियाणमा भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुगेको छ। सिंहका समर्थकहरुले अदालतले गरेको फैसलाको विरोध गर्दै हिंस्रक प्रदर्शन गरेका हुन्।

Ram-Rahim-Balatkari Guru 2

हरियाणामा हजारौं सर्वसाधारणले आफ्ना धर्म गुरु मानिएका गुरमित राम रहिम सिंहलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरु भएको प्रदर्शन अझै रोकिएको छैन। प्रदर्शनकारीहरुले सरकारी भवन, सरकारी तथा निजी सवारीसाधनमा आगजनी गरेपछि हिंसा चर्किएको हो।

त्यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने केही हतियारसमेत बरामद गरिएको छ । प्रदर्शनकारीले २४ वटा सवारीसाधन ध्वस्त पारेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो।

भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह
भारतका स्वघोषित आध्यात्मिक गुरू गुरमित राम रहिम सिंह

 

गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था सच डेरा सौदाका प्रमुखसमेत रहेका सिंहले आफ्ना दुई अनुयायी महिलामाथि बलात्कार गरेको ठहरसहित अदालतले दोषी प्रमाणित गरेको हो । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद्र ११ गते आइतवार ।