काठमाडौ। धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका तिब्बतका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ।

सभाले आज विहीवार विज्ञप्ति जारी गरी लामा जस्ता धार्मिक व्यक्तित्वले भगवान बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको भनेको छ।

संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट भगवान बुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ।

केही दिनअघि भारतमा रहेका दलाई लामाले भगवान बुद्ध भारतमा जन्मेको भनेर विश्वलाई भ्रमित पार्ने अभिव्यक्ति दिएपछि सर्वत्र यसको चर्चा तथा परिचर्चा भएको हो। दलाई लामाको त्यस अभिव्यक्ति उपर सर्वत्र आलोचना हुन थालेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ७ गते विहीवार ।