काठमाडौ। मिथिलाञ्चलको महान पर्व छठको आज मुख्य दिन। छठ पर्व काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाउने कार्य भैरहेको छ। छठको आज तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला भएका छन्।जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुहरुको घुईचो लागेको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ।

Great Festival of Mithilanchal, Nepal. Photo By-Kabindra Man Shakya
Great Festival of Mithilanchal, Nepal. Photo By-Kabindra Man Shakya

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ।

त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ९ गते विहीवार ।