Ram Devi 1काठमाडौ। राजा महेन्द्र जीवित रहंदा राजा महेन्द्रको गाडी हाँक्ने महिला सवारी चालक विगत एक बर्षदेखि आमाघरको शरणमा रहेकी छन्। राजा महेन्द्रको शासन कालमा राजा महेन्द्रकै गाडी हाँकेर राजदरवारदेखि टुंडिखेलसम्म लाने र ल्याउने गरेको बताउने रामदेवी श्रेष्ठ काठमाडौको रविभवन स्थित आमाघरमा रहेकी छन्।

विशेषत राजा महेन्द्रको टुंडिखेलमा सवारी हुने बेलामा त्यसरी गाडी हाँक्ने गरेको बताउने रामदेवीको श्रीमान कृष्णदास श्रेष्ठ पनि राजा महेन्द्रको सवारी चालक थिए। राजा महेन्दको विसं.२०२८ सालमा निधन हुंदा आफ्नो पनि श्रीमान वितेको कारण तीनमहिना यता सेतो कपडामा रहेको रामदेवीले भनेकी छन्। राजा महेन्द्रको आफू र आफ्नो श्रीमान विश्वासको पात्र भएको जिकिर रामदेवीले गरेकी छन्। अर्कोतर्फ राजाको गाडी हाँक्ने भएकोले आफूहरुलाई सवारी चलाउन लाइसेन्स लिन आवश्यक नभएको रामदेवीले भनेकी छन्।

नब्बे सालमा भूइँचालो जाँदा आफू पन्ध्र बर्षको उमेरको भएकोले त्यो बेलाको भूइँचालोको अनुभव राम्रोसंग नै थाहा भएको बताउने रामदेवी यो बर्षवाट ९९ बर्ष पुगेकी छन्। उमेरको चढ्दो उकालोमा नितान्त एक्लो जीवन विताइरहेकी रामदेवीले आफन्तहरुलाई नभेटेको पनि २५ बर्ष भैसकेको छ। थाकथलो काठमाडौको ठहिटी–नघल क्वाँडोस्थित भएको र त्यहाँ रहेको सडककै घर जालसाजी गरेर आफ्नै भतिजोले दश ठाउंमा ल्याप्चे लाउन लगाएर घर नौलाखमा बेचिदिएको खुलसा गरेकी छन्।

त्यसरी घर बेचेको पैसावाट आफ्नो हातमा एक लाख थम्माएर सडकको बास बनाएको तितो यथार्थता भिजन संसारलाई पोखेकी छन्। निसन्तान भएको कारण भतिजोवाट जालसाँजी भएपछि आफू सडकमा अलपत्र पर्नुपरेको र त्यसपछि काठमाडौवाट पाटनतिर लागेपछि त्यहाँपनि धेरै ठाउंमा चहार्दै बस्दै आएको सुनाएकी छन्। सोहीक्रममा पाटनकै आनन्द भन्ने फोटोग्राफर मार्फत दिलशोभा आमाव्दारा संचालित आमाघरमा आएपछि आफूले ती सवै दुःख भुलेको बताएकी छन्।

आफ्नाहरुवाट पाएको चोट र दुःख संझेर आँखावाट आँशु धर्रधरी खसाल्ने रामदेवी कसैलाई दोष दिने पक्षमा छैनन्। दुःख दिनेको पनि भलो होस् भनेर पुकारा गर्ने यी रामदेवी आमा राजा महेन्द्रको गाडी चलाएको र बेलाबखत राजा महेन्द्रवाट भन्ने गरेको स्यावासी तथा बक्सिसलाई अझै संझ्ने गरेकी छन्।

राजा महेन्द्र पछि राजा बनेका बीरेन्द्रसंग पनि राम्रो नै चिनाजानी भएतापनि श्रीमान कृष्णदास र राजा महेन्द्रको निधन भएपछिका दिनमा भने रामदेवी दरवार गइनन्। नगएपछिका दिनमा दरबारसंग आफ्नो संवन्ध टुटेकोले आफू अलपत्र परेको गहभरि आँशु पारेर रामदेवीले भिजन संसारलाई सुनाएकी छन्।

Ram Devi 2प्रकाशन मिति–२०७४ साल असार २९ गते विहीवार ।