काठमाडौ। भारतको हरियाणा राज्यमा विवादास्पद गुरु गुर्मित राम रहिम सिंहलाई बलात्कारी ठहर गरिएपछि सोमवार १० वर्षको जेल सजाय सुनाइएको छ। विवादास्पद गुरु गुर्मितलाई १५ वर्षअघि दुई महिलालाई बलात्कार गरेको अभियोगमा गत शुक्रवार दोषी ठहर गरिएपछि १० वर्षको जेल सजाय सुनाइएको हो।

Balatkari Guru Gurmit

गुर्मितविरुद्धको सजायको सुनुवाइमा सुरक्षाको कारण देखाउदै उनलाई अदालत नलगी रोहतकस्थित सुनारिया जेलभित्रै विशेष अदालतका न्यायधीश जगदीप सिंहले फैसला गरेका हुन् । न्यायाधिश सिंह निर्णय गर्न हेलिकप्टरमार्फत सुनारिया जेल पुगेका थिए । जेलमा रहेको पुस्तकालयलाई अदालत बनाइएको थियो।

गुर्मितलाई सजाय सुनाउनुअघि हरियाणा र पन्जाव प्रान्तका विभिन्न स्थानमा सेना तथा प्रहरीलाई उच्च सर्तकताका साथ कफ्र्यू आदेश जारी गरिएको थियो। राजधानी नयाँ दिल्लीमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

गुर्मितविरुद्ध सजाय सुनाउनुअघि उनका अनुयायीहरुले सवारी साधनमा आगजनी गरेका थिए । गत शुक्रवार गुर्मितलाई पंचकुला नगरस्थित एक अदालतले बलात्कारी ठहर गरेपछि चर्किएको हिंसामा ३८ जना मारिएका थिए । गुर्मितका करिव ६ करोड अनुयायी विश्वभर रहेको बताइन्छ । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद्र १२ गते सोमवार ।