Bidya Devi Bhandariकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै तहको निर्वाचनपश्चात जनआकांक्षा अनुरुप मुलुकको सर्वोत्वमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न सरकार, सबै राजनीतिक दल र आमजनता समक्ष आह्वान गरेकी छन्।

तेस्रो संविधान दिवसका अवसरमा मंगलवार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सांस्कृतिक कार्यक्रम तथा जलपान समारोहमा भण्डारीले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका लागि मार्गचित्रण प्रदान गरेको भनेकी छन्।

कार्यक्रममा उपराष्ट्रपति, कावा प्रधानमन्त्री, कामु प्रधान्यायाधीश, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो। सो अवसरमा नेपाल सांस्कृतिक संस्थानका कलाकारले विभिन्न जातजातिका नृत्य प्रस्तुत गरेका थिए।
प्रकाशन मिति–२०७४ साल असोज ३ गते मंगलवार ।