Late Nar Bahadur Bhandari-Past Chief Minister of Sikkim
Late Nar Bahadur Bhandari-Past Chief Minister of Sikkim

काठमाडौ। नेपाली भाषी बाहुल्यता रहेको भारतको पहाडी राज्य सिक्किमका ख्यातिप्राप्त पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ। ७७ बर्षिय भण्डारीको भारतको नयाँ दिल्लीमा निधन भएको हो। भण्डारी विगत करीब तीन महिनादेखि नयाँ दिल्लीमा उपचाररत रहेका थिए।

भण्डारीलाई मेरुदण्डको समस्या रहेको थियो। केही दिनअघि मात्र भण्डारीको मेरुदण्डको शल्यक्रिया भएको बताइएको छ। सन् १९७३ सालमा भएको सिक्किमको राजतन्त्र विरुद्धको आन्दोलनपछि सिक्किमलाई भारतमा गाभ्ने वा नगाभ्ने भनेर गरिएको जनमत संग्रहका बेला भण्डारी सिक्किम भारतमा गाभ्ने पक्षमा देखिएका थिएन।

जनमत संग्रहका बेला सर्वसाधारणलाई भारतमा गाभ्ने भन्ने तिर नलाग्न आग्रह गर्दा सिक्किममा तैनाथ भारतीय केन्द्रीय प्रहरी बल सिआरपिएफले मरणासन्न हुने गरी कुटेर बोरामा हालेर भण्डारीलाई नालीमा फ्याँकेको बताइएको छ। त्यतिबेलाको असर हाल भण्डारीको मेरुदण्डमा देखिएको र सोही कारणले भण्डारीको निधन भएको बताइएको छ। सिक्किम भारतमा बिलय भएपछि प्रथम मुख्यमन्त्री काजी लेन्डुप दोर्जीपछि भण्डारी सन् १९७९ मा दोस्रो मुख्यमन्त्री बनेका थिए ।
प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।