मानो रोपेर मुरी उब्जाउने मध्य असारमा पनि दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाताहरुले जनप्रतिनिधि चुन्ने आफ्नो अधिकार प्रयोग गर्न उल्लेख्य उत्साह देखाए ।
पहिलो र दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण र उत्साहका साथ सम्पन्न हुनुले आम मतदाताले निर्वाचन मार्फत लोकतान्त्रिक व्यवस्थालाई सवल बनाइ विकास निर्माणका काम अघि बढाउन चाहेको सन्देश पनि दिएका छन् ।
यता सरकारले राजपालाई निर्वाचनमा सहभागि गराउन २ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनको मिति पाँचौं पटक असोज २ गतेलाई सारेको छ ।
लोकतान्त्रिक कालखण्डमा जति पनि निर्वाचन भए कुनै न कुनै रुपमा राजनीतिक दलहरुले त्यसलाई लेनदेनको बिषय बनाए । लोकतन्त्रको पर्याय निर्वाचनलाई लेनदेनको विषय बनाउदा के लोकतन्त्र दिगो बन्न सक्ला ? संविधानको पूर्ण कार्यान्वयनका लागि बाँकी अवधीमा तीन वटै निर्वाचन कसरी सम्भव छ ? २० वर्षपछी स्थानीय निर्वाचन हुँदा पनि त्यही पार्टी, त्यही पार्टीका पुराना अनुहारलाई नै मतदाताले किन रोज्छन् ? मधेशलाई हेर्ने आँखामा सिंहदरबार कहाँ चुक्दै छ ? मधेसको हितका बारेमा हामीले कति छलफल र बहस गरेका छौ ? की हामीले यसलाई बार्गेनिङको विषय मात्र बनायौं ? अथवा मधेशी जनताको राष्ट्रियतामाथि किन बारम्बार प्रश्न उठाइन्छ ? लगायतका प्रश्नको जवाफ खोज्न आज टफटका लागि पाहुना हुनुहुन्छ, राजनीतिक बिश्लेषक बिष्णु सापकोटा । कान्तिपुर राष्ट्रिय दैनिकका स्तम्भकार सापकोटा समाज र राजनीतिको सुक्ष्म विश्लेषणमा दख्खल राख्नुहुन्छ ।