काठमाडौं। नेपालमा सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।

सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक–सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ । यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन ।

सोमबारै सरकारले विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।


प्रकाशन मिति–२०७८ साल बैशाख ६ गते सोमवार ।