काठमाडौं। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा रहेको हामी नेपाली ग्लोबलले मातृभूमि नेपालको समृद्धिका लागि कटिबद्ध भएर लाग्ने भएको छ। नेपालको विकास र आर्थिक सम्बृद्धिका लागि विश्वभर छरिएर रहेका नेपालीको एकता वनाएर अगाडि बढ्ने भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले बताएको हो।

अमेरिकावाट केही दिनअघि मात्र नेपाल आएका केन्द्रिय अध्यक्ष लामाले यस कार्यका लागि आफूहरु पुलको रुपमा कार्य गर्नमा हाल क्रियाशील भैरहेको भिजन संसार डटकमसंगको विशेष कुराकानीमा केन्द्रिय अध्यक्ष लामाले वताएका छन्। विदेशमा बसोबास गर्ने नेपालीसँग सीप, अनुभव र विकाशसम्बन्धी ज्ञान भएकाले नेपालमा त्यसको उपयोगका लागि सरकारले उत्प्रेरित गर्नुपर्ने अध्यक्ष लामाको भनाई छ। त्यसले रोजगारी सिर्जनामा थप मद्दत पुग्ने लामाको जिकिर रहेको छ।

अमेरिकाको न्यूयोर्कमा स्थापित संस्था हामी नेपाली ग्लोबलले नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । हामी नेपाली ग्लोबलले नेपालको कृषि, रोजगार सिर्जना, आर्थिक, मनोरञ्जन, ऐतिहासिक संरक्षण, संस्कृति वा कलाको उत्थान र देशभित्र विभिन्न क्षेत्रमा सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ ।

यसैवीच, शनिवार हामी नेपाली ग्लोबलको नेपाल च्याप्टरको आयोजनामा प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ। केन्द्रिय अध्यक्ष लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थामा आवद्ध पदाधिकारीहरुलाई विशेष सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष विमल खड्का लगायतका पदाधिकारीहरुको विशेष संलग्नता रहेको थियो।

प्रकाशन मिति–२०७७ साल चैत्र २२ गते आइतवार ।