turcky-attactकाठमाडौ। अंग्रेजी नयाँ बर्ष मनाउंदै गरिरहेका व्यक्तिहरुलाई लक्षित गरेर आतंककारीहरुले टर्कीको इस्तानबुलस्थित एक चर्चित रात्रीक्लबमा गोली प्रहार गरिएको छ। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार आतंककारीले आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ।

मारिएकामध्ये १६ जना विदेशी रहेको प्रहरीले जानकारी दिएको छ। नयाँ वर्षको स्वागतमा रमाइलो गरिरहेका व्यक्तिहरूमाथि दुई आतंककारीले स्थानीय समयअनुसार राति एक बजे अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणकारीले एक प्रहरी र सर्वसाधारणलाई प्रवेशद्वारमै गोली हानेर मारेका थिए।

त्यसपछि आतंककारीले ‘रेयना’ नामक यस चर्चित रात्रिक्लबमा पसेर गोली प्रहार गर्न सुरु गरेका थिए। टर्कीमा एक महिनाभित्र भएको यो चौथो आतंककारी आक्रमण हो। टर्कीका गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तीव्र पारिएको र उनीहरूलाई चाँडै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेका छन्।

उनले घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको पहिचान खुलेको जसमध्ये १६ विदेशी र पाँच टर्किस रहेको जानकारी दिए । आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको छ। टेलिभिजनले देखाएका घटनास्थलका दृश्यमा महिलाहरूले ‘पार्टी ड्रेस’ लगाएको र पुरुषले कोट लगाएको देखिएको छ।

आक्रमणकारीले अरबी भाषामा कुरा गरिरहेको सूचना प्राप्त भएको प्रहरीको भनाइ छ। उक्त आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ। निर्दोषमाथि आक्रमण गरिनु बर्बर कार्य भएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता नेड प्राइस ले उल्लेख गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुस १८ गते सोमवार ।