काठमाडौं। नेपाली कथानक तीन चलचित्र ‘ह्याप्पी डेज’, ‘पासवर्ड’, ‘हेल्लो जिन्दगी’का अत्यन्त प्रतिभाशाली अभिनेता विक्रम जोशीले साइकलमार्फत लण्डनदेखि पेरिससम्मको साइक्लिङ यात्रा तय गर्ने भएका छन्। अभिनेता जोशीले काभ्रेको धुलीखेलमा हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई अर्थ संकलनमा सहयोग दिलाउन च्यारिटी साइकल टूर हुन लागेको हो।

लण्डन देखि पेरिससम्मको ३८७ किमी साइकल यात्रा गर्न लागेका अभिनेता जोशीको यो च्यारिटी यात्रामा एक टीम पनि सहभागी छ। शुक्रबारवाट लण्डन ब्रिजदेखि सुरु हुने साइकल यात्रा पेरिसको प्रसिद्ध आइफेल टावर पुगेर समापन हुनेभएको छ। यात्रा तय गर्न तीनदिन लाग्ने अभिनेता जोशीको भनाई छ।

‘पाइडल घुमाउँदै लन्डनबाट पेरिस पुग्ने योजना छ’ जोशी भन्छन्, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुँदैछ ।’ उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेका हुन्।

जोशीले भने, ‘यात्राका लागि म करिब तीन सातायता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु।’ लामो समयदेखि नियमित कसरत गर्दै आइरहेकाले छोटो समयको तयारीले पनि आफूलाई सफलता मिल्ने बिश्वास उनको छ।

उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रुपैया) संकलन गर्ने लक्ष्य लिएको उनले बताए ।

अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जोकोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन्।

प्रकाशन मिति–२०७९ साल जेठ ५ गते विहीवार ।