न्युयोर्क । अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्वकै प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलको ८ औं संस्करणमा दुई नेपाली फिल्ममेकरहरुको फिल्म पर्न सफल भएको छ।

विगत केही समयदेखि अमेरिकाको न्यूयोर्क शहरमा बसेर पत्रकारिता गर्दैआएका नेपाली पत्रकार अनुज थापाले बनाएको वृत्तचित्र “फाइटिग फर जस्टिस ” अर्थात “ न्यायको लागि लडाई ” डकृमेन्ट्री विधामा छनौट भएको हो। उक्त वृत्तचित्रमा पत्रकार थापाले पछिल्लो समय अमेरिकामा विशेषगरी मुसलमान समुदाय विरुद्ध बढिरहेको घृणालाई उतारेका छन्।

१० मिनेट लामो वृत्तचित्रमा १ वर्षअघि न्यूयोर्क शहरमै एक मुसलमान धर्मगुरु र उनका साथीको दिनदहाडै हत्या गरिएको विषयको उठान गरिएको छ। वृत्तचित्रमा उक्त परिवारले न्यायका लागि गरिरहेको संघर्ष देखाइएको छ।

Mr. Anuz Thapa-Vetran Journalist & film Maker

त्यस्तै, नेरेटिभ विधामा निर्देशक रोशन विक्रम ठकुरीको छोटो चलचित्र “ सिल्भर ब्याङ्गल्स ” अर्थात “ चांदीको चुराहरु ” छनौट भएको छ । सशस्त्र द्धन्दका बेला एक महिलाले आफ्नो वैवाहिक जीवन बचाउने प्रयासलाई पर्दामा उतारिएको छ।

फिल्म महोत्वसमा विभिन्न विधाहरुका लागि ६५० चलचित्रहरुको आवेदन परेकामा १८० वटा छनौटमा पर्न सफल भएको हो । ती फिल्महरुको प्रदर्शनी आगामी मार्च १५ देखि २५ तारिखसम्म न्यूयोर्क शहको क्विन्समा हुदैंछ।

यसअघि सन् २०१६ को संस्करणमा नेपाली चलचित्र डाईन क्यान्डल फिल्मका सिनेमाटाोग्राफर रविन आचार्यले बेस्ट सिनेमाटोग्राफरको पुरस्कार पाएका थिए।
प्रकाशन मिति–२०७४ साल माघ ४ गते विहीवार ।