काठमाडौ। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले यादव खरेल निर्मित तथा निर्देशित दुई नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरी राख्ने भएको छ । त्यसका लागि दुवै फिल्मका सक्कल प्रति निर्देशक खरेलले दिएर पठाएका छन् ।


उक्त युनिभर्सिटीसँग लाइब्रेरी अफ कंग्रेसपछि अमेरिकाको दोस्रो ठूलो पुस्तकालय छ । निर्देशक खरेलद्वारा जारी विज्ञप्तिका अनुसार युनिभर्सिटीको फिल्म एन्ड टेलिभिजन अर्काइभका निर्देशक डा. जाँ–क्रिस्टोफर होराकले नेपालको इतिहास र भाषाको विकासक्रम बुझ्न सहायक हुने बताएका छन् ।

बालकृष्ण समको नाटकमा आधारित रहेर खरेलले निर्देशन गरेको ‘प्रेमपिण्ड’मा एक राणा जर्नेलको आफ्नै दासीप्रतिको आशक्ति र प्रेमको कथा छ । फिल्ममा नीर शाह, सनी रौनियार र सरोज खनालको मुख्य भूमिका छ ।

विसं.२०५० सालमा बनेको प्रेमपिण्डले नेपालको इतिहासको एउटा खण्डलाई फिल्मी पर्दामा कैद गरेकाले यसलाई ऐतिहासिक महत्त्वको फिल्म समेत मानिन्छ । विसं. २०५६ सालमा बनेको ‘आदिकवि भानुभक्त’ मा भानुभक्तको जीवन कथा नै पर्दामा उतारिएको छ । दिलीप रायमाझीले भानुभक्तको शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

प्रकाशन मिति–२०७४ साल फागुन २१ गते सोमवार ।