काठमाडौं। अमेरिकामा रहेका नेपाली साहित्यकार किरण पल्पसाको शव्द–रचना र हङकङमा रहेका अन्तरराष्ट्रिय नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको संगीतमा तयार भएको ‘लौन के गरौं’ गीतको म्युजिक भिडियो रिलिज भएको छ।

अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागिपरेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा हल्का रमाइलोकी कलाकार इस्टु कार्की ‘नेप्टी’सँग मोडल प्रविन डीसीको रोमान्स देख्न सकिन्छ। भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र उमेरमा आँखा हेराहेरमै हुने प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। निर्देशन निर्देशक जस बहादुर याक्खाले गरेका हुन। दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ।

प्रकाशन मिति–२०७८ साल फागुन ६ गते शुक्रवार ।