वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी मुलुक मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउन कार्यकारी आदेश जारी गरेका छन्। राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनेसम्बन्धी निर्देशनमा हस्ताक्षर गर्दै यसमा तत्काल काम शुरु गरिने बताएका छन्।

Donald Trump

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीमा भएको एक विशेष कार्यक्रमका बीच ट्रम्पले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा दुई हजार माइलभन्दा लामो पर्खाल बनाउनेसम्बन्धी निर्देशनमा हस्ताक्षर गरेका हुन्। यसले अवैध आप्रवासी र लागूऔषधको कारोबारलाई रोक्ने ट्रम्पको दाबी छ ।

बिना राष्ट्रिय सीमाको देश नहुने भन्दै ट्रम्पले देशको दक्षिणी सीमामा संकटको अवस्था रहेकाले त्यसलाई समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। अर्बौ डलर खर्च हुने यो प्रस्तावका लागि ट्रम्पले कंग्रेसको स्वीकृति लिनुपर्छ। ट्रम्पले देशको सुरक्षा बढाउनेसम्बन्धी अर्को एक प्रस्तावमा पनि हस्ताक्षर गरेका छन्।

यस्तै गैरकानुनी आप्रवासीको बसोबास बढी रहेको तथा त्यस्ता आप्रवासीलाई आश्रय दिएका अमेरिकी शहरलाई दिइने सहयोग कटौतीसम्बन्धी दस्तावेजमा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन्। यसैबीच एबीसी न्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पर्खाल बनाउने खर्च मेक्सिकोले पनि बेहोर्नुपर्ने बताएका छन् तर, मेक्सिकोले भने यसलाई अस्वीकार गर्दै आएको छ।

ट्रम्पले विद्रोहीको आरोपमा पक्राउ परेकासँग गरिने सोधपुछको तरिकामा पनि समीक्षा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले गुप्तचर विभाग सिआइएले अमेरिकाभन्दा बाहिर चलाउने गोप्य बन्दीगृह फेरि खोल्नेबारे पनि विचार गरिरहेको उल्लेख छ। यस्ता बन्दीगृह अहिले भने बन्द छन्। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल माघ १३ गते विहीवार ।