काठमाडौ। नेपालका राष्ट्रिय विभूति विश्व प्रसिद्ध कलाकार अरनिको स्मृति जयन्तीको अवसरमा नेपाल कमर्शियल आर्टिष्ट संघले २३ औं स्थापना दिवस मनाएको छ। संघले आफ्नो स्थापना दिवसको गौरबमय परम्परा अनुरुप कलाकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।

नेपालका शताव्दी पुरुष ९७ बर्षिय डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकार शशिविक्रम शाहको विशेष आतिथ्यता र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायको आतिथ्यतामा पुरस्कार तथा सम्मान कार्यक्रम भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आर्ट काउन्सिलका अध्यक्ष समेत रहेका शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अरनिको कलाको शहर पाटनमा जन्मेको भएतापनि उनको कर्मथलो चीन भएको र चीनमा धेरै कलाकृति अरनिकोले सिर्जना गरेर नेपाल र चीनको राजनीतिक तथा दौत्य संवन्धलाई प्रगाढ पार्न अत्यन्त ठूलो टेवा दिएको दावी गरेका छन्।

अरनिकोको बारेमा आफूले उनको कर्मथलो चीनमा नै गरेर अध्ययन गरेको र फर्केर आएर अरनिको संवन्धी आफूले नेपालभाषामा महाकाव्य नै लेखेको बताएका छन्। उक्त अरनिको संवन्धी महाकाव्य नेपाली तथा अंग्रेजीमा समेत प्रकाशित भएको जानकारी पनि डा.जोशीले दिएका छन्।

नेपालको संघीय संरचना अनुसारको तीन तहको केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई नेपाली कला र कलाकारिताको महत्व बारेमा बुझाउन अत्यन्त आवश्यक भएको समेत डा.जोशीले भनेका छन्।

कार्यक्रममा क्यान कलाकार पुरस्कार सुरेश द्यःला, हेमगंगा युवा कला प्रतिभा पुरस्कार केशवराज खनाल, हेमगंगा महिला कला प्रतिभा पुरस्कार प्राज्ञ सुषमा राजभण्डारी र क्यान आइडियल कला अवार्ड ज्ञानेश्वर उदयलाई प्रदान गरिएको छ। त्यसैगरेर नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति कलाकार रागिनी उपाध्यायले आफ्नी स्वर्गवासी छोरी शिवाता ग्रेलाको स्मृतिमा यो बर्षवाट स्थापना गरेको नगद १० हजार राशीको शिवाता प्रतिभा पुरस्कार सुजान श्रेष्ठलाई प्रदान गरिएको छ।

आयोजक नेपाल कमर्शियल आर्टिष्ट संघ क्यानले ७७ बर्षिय कलाकार चन्द्रमणि दाहाल तथा ७१ बर्षका यादवचन्द्र भुर्तेललाई सम्मानित गरेको छ। सम्मान तथा पुरस्कार विशेष अतिथि बरिष्ठ कलाकार शशिविक्रम शाहले प्रदान गरेका थिए। कार्यक्रममा आइडियल डिजाइनर्सका प्रसिद्ध कलाकार सुन्दर श्रेष्ठ, प्रसिद्ध कला विश्लेषक रमेश खनाल लगायतले नेपाली कला र कलाकारिताका बारेमा प्रकाश पारेका थिए। स्वागत मन्तव्य प्रसिद्ध कलाकार प्रेमलाल श्रेष्ठले राखेका थिए।


प्रकाशन मिति–२०७४ साल पुष २३ गते आइतवार ।