Mr. Bharat Bomzon-Vetran Lyrisist of Nepal
Mr. Bharat Bomzon-Vetran Lyrisist of Nepal

काठमाडौ। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसर पारेर तीजका गीत निकाल्ने एक किसिमले होडवाजी नै केही बर्षयता चलेको पाइन्छ। त्यो होडवाजीमा तीज जस्तो पवित्र पर्वका गीतहरुमा पनि व्यापक अश्लिलताले छाएको सुनिन्छ। चर्चा तथा नामका लागि जथाभावी अश्लिल तथा छाडा तीज गीत गाउने गायक–गायिकाहरुलाई थप्पड हान्नुपर्ने प्रसिद्ध गीतकार भरत बमजनको भनाई रहेको छ।

Bharat Bomzon, Purna Shree Pariyar & Pashupati Tamrakar
Bharat Bomzon, Purna Shree Pariyar & Pashupati Tamrakar

रेडियो नेपालको बरिष्ठ संचारकर्मी समेत रहेका गीतकार बमजन तीज गीतका नामका ती छाडा गीतहरुले नेपाली परम्परा तथा मान्यतालाई तोड्दै ल्याएको खुलासा गर्छन्। त्यस प्रवृतिलाई सर्जकहरुले बहिष्कार गर्नुपर्ने तथा शालिन अनि भद्र तीज गीत रचना गर्नुपर्ने जिकिर गीतकार बमजनको रहेको छ।

सोही अनुरुप यो बर्षको तीज पर्वको अवसर पारेर गीतकार भरत बमजनले घुमीफिरी तीज आयो बोलको गीत बजारमा ल्याएका छन्। अत्यन्त शालिन तथा भद्र अनि परिवारको साथमा बसेर सुन्दा पनि रमाइलो लाग्ने भाकामा गीत तयार भएको गीतकार बमजनको दावी रहेको छ।

संगीत सर्जक पूर्ण श्री परियारको संगीत तथा गायिका पशुपति ताम्राकारको गायन रहेको यो तीज गीतमा गीतकार बमजनले नेपाली चेलीको मर्म तथा भावनालाई मार्मिक तवरवाट चित्रण गर्ने प्रयास भएको छ।

Singer Pashupati Tamrakar
Singer Pashupati Tamrakar

दुई बर्षअघि आवर्तन नामक एल्वम निकालेर नेपाली सांगीतिक दुनियाँमा छाएकी गायिका पशुपति ताम्राकार भारतको जयपुर बस्दैआएकी छन्। अव उप्रान्त नेपालमा नै बसेर नेपाली गीत–संगीतको श्रीबृद्धिको लागि आफू कम्मर कसेर लाग्ने जानकारी गायिका ताम्राकारले दिएकी छन्।

पहिलो पल्ट भरत बमजनको भाकामा तीज गीत गाउंदा अत्यन्त रमाइलो लागेको र पहिलो पल्ट आफूले तीजको अनुभव गर्न पाएको समेत भनेकी छन्।
प्रकाशन मिति–२०७४ साल साउन १४ गते शनिवार ।