Australia map 1काठमाडौ । अन्य मुलुकमा जन्मेर अष्ट्रेलियामा बस्न जाने आप्रवासी मध्ये सबैभन्दा तिव्र गतिमा नेपालीहरुको वृद्धी भैरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

अष्ट्रेलियाको तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००५ मा केवल ३ हजार ८ सय नेपाली अष्ट्रेलियामा रहेकोमा सन् २०१५ सम्म त्यो संख्या नाटकीयरुपमा बढेर ४३ हजार ५ सय पुगेको उल्लेख छ ।

Australia map 2

विदेशमा जन्मेर अष्ट्रेलियामा बस्न जानेहरुको संख्या सन् १८९५ यताकै सबैभन्दा तीव्र रुपमा वृद्धी भैरहेको र यस्तो जनसंख्यामा नेपालीहरुको जनसंख्या सबैभन्दा उच्च रहेको तथ्याङ्कले देखाएको छ । द सिड्नी मोर्निङ हेराल्डको अनलाइन संस्करणले प्रकाशित गरेको समाचारमा नेपालमा जन्मेकी नर्स पुष्मा बेलबासेको उदाहरण समेत दिइएको छ । सन् १९९६ मा अष्ट्रेलिया गएकी पुष्पाले शुरुमा अलि गाह्रो भएपनि अहिले आफू जहाँ गएर पनि बस्न सक्ने अवस्था रहेको बताएकी छिन्। उनले अहिले आफूलाई अष्ट्रेलिया आफ्नै घर जस्तो लाग्न थालिसकेको पनि द सिड्नी मोर्निङ हेराल्डलाई बताएकी छिन्। पुष्माका २ सन्तान अष्ट्रेलियामै जन्मिएका थिए।

Australia map 3

अन्य देशका नागरिकको तुलनामा नेपालीहरुको संख्या कम रहेपनि वृद्धीको अनुपात भने उच्च रहेको देखिन्छ । अष्ट्रेलियामा नेपालीहरु वर्षेनी २८ प्रतिशतले वृद्धी भैरहेका छन् । नेपाल पछि सबैभन्दा बढी अष्ट्रेलिया बस्न जानेमा पाकिस्तान, ब्राजिल र भारत जस्ता देशका छन् । उनीहरुको जनसंख्या पनि यो अवधीमा कम्तिमा ३ गुणाले बढेको देखिन्छ । अष्ट्रेलिया संसारका सबैभन्दा बस्न लायक देशको सूचीमा अग्र स्थानमा आउँछ । पछिल्लो दशकमा हजारौंको संख्यामा नेपाली रोजगारी र उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र १९ गते शुक्रबार ।