yatayatकाठमाडौ। नेपालमा यो असार महिनामा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ। दुई पटक गरेर पेट्रोल, डिजेल र मट्टीतेलमा एक रुपैया पचास पैसा र दुई रुपैया गरेर तीन रुपैया पचास पैसा घटिसकेको छ। तरपनि सार्वजनिक यातायातको भाडादर भने घटाउने प्रयास सरकारले गरेको पाइएको छैन्।

यसले गर्दा उपभोक्ताहरुले सार्वजनिक यातायातको भाडादर घटाउनु पर्ने माग गरेका छन्। सामान्य रुपमा पेट्रालियम पदार्थको मूल्यबृद्धि हुनासाथ तत्काल सार्वजनिक यातायातको भाडा बढाउने सरकार यसरी भाडादर नघटाउनुको पछाडि बैज्ञानिक कारण तेर्साउछन्।

पेट्रोलियम पदार्थको भाउ एक मुष्ट रु पाँचभन्दा बढी नघटेकाले विसं २०६५ मा लागू भएको वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेको भनाई बाहिर आएको छ।

“वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन, अन्य सूचकको मूल्य अहिले घटेको छैन, पेट्रोलियम पदार्थको भाउ पनि यो महिनामा दुई पटक गरी रु ३.५० मात्र घटेको हो” पाण्डेले भनेका छन्।

अव एक रुपैया पचास पैसा घटेपछि मात्र सार्वजनिक यातायातको भाडादर घट्ने अनुमान गरिएको छ। यस मापदण्डले सार्वजनिक यातायातको भाडादर नघट्ेको भनिएतापनि उपभोक्ताहरुले भने यस आधारवाट चित्त बुझाएको पाइदैन।
प्रकाशन मिति–२०७४ साल असार १९ गते सोमवार ।