निर्माण सामग्रीको अभावले भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका सम्पदाहरुको पुनर्निर्माणले अपेक्षाकृत गति लिन सकेको छैन । सरकारी निकायले नै आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा पुनर्निर्माण प्रभावित भएको हो ।

नगरपालिका, पुरातत्व विभाग र विभिन्न दातृसंस्थाले ठूला सम्पदा बनाउन सुरु गरे पनि कतिपय साना मन्दिर, पाटी, देवलको पुनर्निर्माण सुरु गरिएको छैन । विश्वभरका पर्यटक आकर्षित गर्ने मल्लकालीन ऐतिहासिक र जीवन्त सम्पदाको पुनर्निर्माणमा भइरहेको ढिलाइले पर्यटकहरु समेत निराश हुने गरेको स्थानीयबासी बताउँछन् ।

खौमाढोका, रामेश्वर, द्वीमाजु, बद्रीनारायण मन्दिर, दत्तात्रय स्थित भिमसेन मन्दिर र लक्ष्मीनारायण मन्दिर बनाइएपनि काठको अभावमा राष्ट्रिय कला संग्राहालय, सिलु महादेव, सिद्धिलक्ष्मी मन्दिर अझै अन्यौलमा छन् । केदारनाथको मन्दिर निर्माण भइरहेको पनि च्याम्हासिंह प्रवेशद्धारको काम सुरु नै गरेको छैन ।

Kantipur News