बुवा मदनकृष्ण श्रेष्ठको मुख हेरेर खुट्टामा प्रणाम गर्दै यमन श्रेष्ठ
बुवा मदनकृष्ण श्रेष्ठको मुख हेरेर खुट्टामा प्रणाम गर्दै यमन श्रेष्ठ

काठमाडौ। प्रत्येक बर्ष भाद्र कृष्ण औसीका दिन बाउको मुख हेर्ने पर्वको रुपमा नेपालमा मनाइने गरिन्छ। आज विहीवार बाउको मुख हेर्ने पर्व परेको छ। आफ्ना बाउको मुख हेरेर मिठो–मसिनो खुवाएर उपहार दिने गरिन्छ। बुवा नहुनेले बुवाको संझनामा गोकर्ण लगायतका तीर्थहरुमा गएर श्राद्ध लगायत कार्य गरेर पितालाई संझिने कार्य गर्ने गरिन्छ।

आजैका दिन पिता नहुनेहरुले गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन-तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ। आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ।

गोकर्णेश्वर उत्तरगयामा भव्य मेला गोकर्ण मन्दिर परिसर
गोकर्णेश्वर उत्तरगयामा भव्य मेला गोकर्ण मन्दिर परिसर

गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ। आजै अर्थात् भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ ।

आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता छ।
प्रकाशन मिति–२०७३ साल भदौ १६ गते विहीवार