Indonesiya Earthquakeकाठमाडौ। इन्डोनेशियाको सुमात्रा टापुमा बुधबार ७.९ रेक्टर स्केलका शक्तिशाली भुकम्प गएको छ। भूकम्पका कारण केही मानिसको मृत्यु भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएपनि बुधबार साँझसम्म ठूलो क्षतिको खबर आएको थिएन। भुकम्पपछि उत्तर तथा पश्चिमी सुमात्रा, आचेह, क्रिसमस आइल्यान्ड तथा कोकोस आइल्यान्डमा सुनामीको चेतावनी दिइएको थियो भने अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले पश्चिमी तटीय क्षेत्रमा अलर्ट जारी गरेको थियो। तर, पछि दुवै देशले सुनामीको चेतावनीलाई रद्ध गरेको बेलायतको मिरर अनलाईनले जनाएको छ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भुकम्पको केन्द्रविन्दु इन्डोनेशियाको पादोङदेखि ८ सय ८ किलोमिटर दक्षिण-पश्चिमी क्षेत्रको १० किलोमिटर गहिराईमा रहेको छ। स्थानीय समयअनुसार राती ८ बजे भुकम्प आएपछि स्थानीयबासीहरु घरबाट बाहिर निस्किएका थिए भने सुनामीको डरले अग्लो स्थानतर्फ भागेका थिए । नेशनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अपरेशन उपप्रमुख हिरोनिमस गुरुले भुकम्पका कारण केही मानिसको मृत्यु भएको बताए । रातीको समय भएकाले मृतकहरुको संख्या यकिन भएको छैन।

सन् २००४ मा आएको ९.१ रेक्टर स्केलको भुकम्पपछिको सुनामीले इन्डोनेशियासहित भारत, श्रीलंका, थाइल्याण्ड, मलेसिया, सोमालिया, केन्या, तान्जानिया र बंगलादेशमा २ लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यसको ३ महिनापछि आएको ८.७ रेक्टर स्केलको अर्को भूकम्पमा १ हजार ३ सय जनाको मृत्यु भएको थियो ।

सन् २००६ को मे महिनामा आएको ६.३ रेक्टर स्केलको भूकम्पमा ५ हजार ७ सय ५० जनाको मृत्यु भएको थियो । २०१४ मा पनि त्यहाँ ७ रेक्टर स्केलका २ भुकम्प आएका थिए भने सन् २०१६ को फेब्रुअरीमा पनि पुलाउ साम्बा टापु केन्द्र रहेको ६.५ रेक्टर स्केलको भूकम्प आएको थियो।
प्रकाशन मिति–२०७२ साल फागुन २० गते विहीवार ।