काठमाडौ। उपचारको नाममा नेपाली महिला माथि पनि यौन–शोषण तथा बलात्कार हुन थालेको छ। भारतका पाखण्डी उपचारकहरुले त्यसप्रकारका अपराध गर्दैआएको बेला–बेलामा खवर आउने गरेतापनि नेपालमा भने त्यस्तो खासै घटना प्रकाशमा आएको थिएन।

विहीवार भने, नेपाल प्रहरीले उपचारको नाममा नेपाली महिलामाथि यौन–शोषण तथा बलात्कार गर्ने पाखण्डी उपचारकलाई पक्राउ गरेपछि त्यसको पर्दाफास भएको हो। पक्राउ पर्नेमा औतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन्।

सिन्धुलीको दुम्जा घर भएका ५५ वर्षीय लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले काठमाडौको दक्षिणकालीवाट पक्राउ गरेको हो। लामाले बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती करणी गर्नुका साथै करणीको प्रयासहरु गरेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार पेमा टासी छेटुङ गुम्बा दक्षिणकालीमा बस्ने लामाले आफूसँग दैवी शक्ति भएको भन्दै सबै रोग निको पार्न सक्छु भन्ने दाबी गर्थे। त्यसपछि आफूसँग उपचार गर्न आउने महिलालाई बलात्कार गर्ने गर्थे। बलात्कार गरेपछि आफू रिसाए अनिष्ट हुन भन्दै धम्क्याउने गरेका थिए। उनले युवतीहरुसँग यौनसम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ।

लामाले अश्लिल फोटो रभिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ। उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका लागि राखिएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ७ गते विहीवार ।