Kathmandu mapकाठमाडौ । उद्योग मन्त्रालयले बजेट अभाव हुन नदिने प्रतिबद्धतासहित काम गर्न खानी विभागलाई निर्देशन दिएको छ। यसले गर्दा अव ६ महिनाभित्र काठमाडौ उपत्यकाको जमिनमुनिबाट ग्यास निकाल्ने पक्कापक्की भएको छ। एक अध्ययनअनुसार उपत्यकामा २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास छ । उक्त ग्यास निकाल्ने गरी काम सुरु भइसकेको जनाउँदै उद्योगमन्त्री सोमप्रसाद पाण्डे र मन्त्रालयका उच्च अधिकारीहरूले ग्यास भएको स्थानको अवलोकन गरेका छन्।

Gyas in Ktm 1मन्त्री पाण्डे, खानी तथा भूगर्भ विभागका महानिर्देशक सव्जितप्रसाद महतोले ललितपुरको इमाडोल र काठमाडौंको टेकुमा अध्ययन अवलोकन गर्दै पाइपबाट ग्यास वितरण गर्न सक्ने गरी काम अघि बढाएको बताएका छन् । पाइपबाट ग्यास वितरण गर्ने विषयको भाषणले केपी शर्मा ओली आलोचित बनिरहेका बेला उद्योग मन्त्रालयले यससम्बन्धी काम ६ महिनामा पूरा गर्ने जनाएको हो।

जापानी सहयोग नियोग (जाइका) ले करिब २५ वर्षअघि गरेको अध्ययनअनुसार राजधानीका विभिन्न स्थानमा प्राकृतिक ग्यासको सम्भाव्यता औंल्याएको थियो । उक्त अध्ययनलाई आधार मानी जापानी विशेषज्ञ टोलीले २०३८ मा केही ठाउँबाट ग्यास उत्खननसमेत गरेको थियो । ललितपुरको इमाडोल, शंखमूल, भक्तपुरको बालकोट, काठमाडौंको टेकु, विष्णुमती किनारा, भृकुटीमण्डपलगायत उपत्यकाका १४ स्थानमा ग्यास निकाल्ने थप अध्ययन मन्त्रालयले हाल गरिरहेको छ । जाइकाको अध्ययनलगत्तै सरकारले ग्यास पाइप लाइनमार्फत उपभोक्ताहरूलाई वितरण र उत्खनन गर्न लागत इस्टिमेट सहितको डिजाइन तयार पारी कामसमेत सुरु गरेको थियो । तर, सरकारी ढिलासुस्तीका कारणले ग्यास उत्खनन हुन सकेको थिएन।

Gyas in Ktm 2६ महिनाभित्र ग्यास निकाल्न तयारीका साथ इमाडोलमा साढे तीन सय मिटर बोरिङ, ट्यांकी, सानो बुलेट निर्माण भइसकेको छ । जमिनमुनिबाट निस्कने ग्यास पाइपबाट मात्रै वितरण गर्न सकिने छ । मिथेन ग्यासलाई सिलिन्डरमा भर्न नसकिने भएकाले छुट्टै पाइपबाट मात्रै वितरण गर्नुपर्ने प्राविधिकहरूले औंल्याएका छन् । त्यसका लागि इनार खन्ने र स्टोरेज बुलेटको आवश्यकता पर्छ । एउटा इनार खन्नका लागि ५० लाख रुपैयाँसम्म लागत लाग्छ । स्टोरेज बुलेट खरिद गर्न ५० लाख रुपैयाँसम्म पर्न सक्छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक महतोले ग्यास उत्खननपछि ग्यासको फ्लो हेरेर मात्र सर्वसाधारणलाई वितरण गर्न सकिने र नसकिने थाहा हुने बताए । ‘प्रत्येक घण्टा जम्मा हुने ग्यासको मात्रा पछि मात्रै सर्वसाधारणलाई वितरण गर्नेबारे थाहा हुने छ,’ उनले भने, ‘२५ वर्षअघि गरिएको अध्ययन समयसपेक्ष नहुने भएकाले ग्यास निकाल्न पुनःअध्ययन गर्नुपर्ने देखिएको हो ।’ सरकारले गत वर्ष उक्त क्षेत्रमा ग्यास उत्खननका लागि ४० लाख रुपैयाँ खर्च गरिसकेको छ।‘टेकुमा सलाईको काँटी बाल्दा आगो बल्ने गर्छ,’ उनले भने । केही स्थानीयहरूले अनौपचारिक रूपमा सोही स्थानबाट आगोसमेत बालेका थिए । स्थानीयहरूका अनुसार हावा चल्दासमेत ग्यास ननिभ्ने गरेको छ । उद्योग मन्त्रालय प्रविधि महाशाखाका प्रमुख तथा सहसचिव ऋषिराज कोइरालाका अनुसार जाइकाले सन् १९९७ मा उपत्यकामा सहयोग रूपमा ग्यास भण्डारको विषयमा अध्ययन गरेको थियो ।

अध्ययनले ४ करोड ५० लाख क्युबिक घनमिटर प्रमाणित र ३० करोड क्युबिक घनमिटर अर्ध प्रमाणित प्राकृतिक ग्यास रहेको देखाएको हो । ४ करोड ५० लाख क्युबिक घनमिटरले ६ वर्षसम्म २० हजार परिवारलाई प्रयोग गर्न सकिन्छ । प्रमाणित र अर्धप्रमाणित प्राकृतिक ग्यास टेकु–त्रिपुरेश्वर, कोटेश्वर–तीनकुने र महाराजगन्ज–इमाडोल क्षेत्रमा छ । भारतको अघोषित नाकाबन्दीका कारण ग्यास हाहाकार भएपछि उपत्यका भित्रको ग्यासको विषयले छलफलमा प्राथमिकता पाएको हो।

ग्यास रहेको केही स्थानमध्ये खानी विभागले जग्गासमेत खरिद गरी ठाउँ ओगटिसकेको छ । टेकु र इमाडोलबाट तत्कालै निकाल्न सक्ने सम्भावना भएकाले यी क्षेत्रमा हाल काम गरिरहेको छ । सबै ठाउँमा भएको ग्यास प्रयोगमा ल्याउनका लागि १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशन मिति–२०७२ साल माघ १५ गते शुक्रबार ।