काठमाडौ। काठमाडौको मैतीदेवी स्थित सेतोपुल नजिक एकाविहानै मंलगवार बस दूर्घटना भएको छ। गोकर्णेश्वरको कपनवाट काठमाडौको कालिमाटी तरकारी बजारमा तरकारी लिन विहानै हिंडेको सुन्दरीजल–रत्नपार्क चल्ने सिटी यातायातको बा२ख ८७३३ नंबरको बस दूर्घटनामा परेको हो।

विहान ३ बजे मैतीदेवीको विद्युत पोलमा ठोकिएर एक बल्ड्याङ खाएर पल्टेको उक्त बसमा सवार १७ जना गंभीर घाइते बनेको प्रहरीले भनेको छ। प्रहरीका अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ। घाइतेमध्ये ४ जना गम्भीर छन्।

तीब्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। चालक भने फरार छन्। बिजुलीको ट्रान्सफर्मर रहेको पोलमा बस ठोक्किएको थियो भने पोलले बसलाई थिचेको छ। प्रहरीका अनुसार दोलखाका २६ वर्षीय यज्ञराज खतिवडा, रामेछापका ४५ वर्षीय गंगालाल तामाङ, उनकी श्रीमती ४३ वर्षीय संजिला तामाङ, भारतीय नागरिक भोजहरि अन्सारी, वर्ष ५७ की साबित्री थापा, ५४ वर्षीय हरिशरण फुयाल, काभ्रेकी ४५ वर्षीय च्याङ्वा तामाङ, सुर्खेतकी ३६ वर्षीय कमल महत, सिन्धुपाल्चोक मेलम्भीकी तेजकुमारी चालिसेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तै सप्तरीका ४० वर्षीय भोजबहादुर राई, उनकी श्रीमती ३९ वर्षीय मैनाकुमारी राई, ३९ वर्षीय गीता धिमाल, गोकर्णेश्वरका ६४ वर्षीय नारायणप्रसाद दाहाल, वर्ष २६ की गीता अधिकारी, दोलखाकी ३७ वर्षीय पुर्ध धामी, कागेश्वरी नगरपालिकाकी ३९ वर्षीय माया श्रेष्ठ र एक ७० वर्षीय वृद्धाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशन मिति–२०७४ साल पुष ११ गते मंगलवार ।