बुटवल। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताएका छन्।

Mr KP Sharma Oli addressed in Butwal. Picture
Mr KP Sharma Oli addressed in Butwal. Picture-RSS

नेकपा एमालेद्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई आइतवार भैरहवामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो यो संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर जबर्जस्ती गर्न खोजेको आरोप लगाए।

ओलीले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना गरेको दावी गर्न चुकेनन्। देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गर्न नसकेको समेत ओलीको जिकिर रहेको छ।

उनले संविधानतः आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्रमा लागेको समेत भनेका छन्। सांसद आदित्यनारायण कसौधनको सभापतित्वमा भएको कार्यक्रममा तुलसी चौधरी, पोलिटब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुवीर महासेठ लगायतले बोलेका थिए ।
प्रकाशन मिति–२०७३ साल फागुन २९ गते आइतवार ।