Parliament-Meetingकाठमाडौ। नेपालको व्यवस्थापिका संसदमा जेठ १५ गते शनिवार प्रस्तुत हुनु एकदिन अगावै बजेटको सूचना चुहावट भएको विषयमा छानविन हुनुपर्ने माग सहित संसद अवरुद्ध हुन पुगेको छ। सोमवार विहानै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा मधेशी मोर्चाका सांसदहरुले उक्त विषयमा सवाल गर्दै संसद अवरुद्ध गर्न खोजेपछि सभामुख ओनसारी घर्तीले नेपाली कांग्रेसका सांसद एवम् पूर्व अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत हुनु एकदिन अघि नै एक पत्रिका मार्फत अर्थमन्त्रीवाट बजेट चुहावट गरेको आरोप लगाउंदै त्यसवारेमा पूर्ण छानविन नभएसम्म संसद अवरुद्ध गर्न आफूहरु वाँध्य भएको बताएका थिए।

KP-Oli-Sher-Bahadur-Deuba

संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छानविन मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। बजेट चुहावट भएको विषयमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंगको भेटवार्तामा चर्का–चर्की नै भएको समाचार स्रोतले बताएको छ। बजेट चुहावट नभएको जिकिर पनि सोही भेटवार्तामा प्रधानमन्त्री ओलीले गरेका थिए।

चुहावटको विरोधमा कांग्रेसले सोमबार एकै दिन ४ पटक सदन अवरुद्ध बनाएपछि ओलीले प्रमुख विपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । देउवाले बजेटको सूचना लिक हुनु संसदीय अपमान भन्दै छानवीन गर्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले भने बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेकाले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए।

ओलीले यसअघि पनि बजेट अघि नै मिडियामा सार्वजनिक हुने गरेको दृष्टान्त राखेका थिए । ‘पोहोर पनि एक अनलाइनले हुबहु सार्वजनिक गरेको थियो । त्यसअघि पनि दैनिक पत्रिकामै आएको थियो’, व्यवस्थापिका-संसदस्थित आफ्नै कक्षमा प्रधानमन्त्री ओलीले भनेका थिए-‘यसपटक त्यस्तो गम्भीर असर हुने खालको केही चुहावट भएको छैन।’ देउवाले भने गत शनिवार बजेट अर्थ मन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नु अघि नै मिडियामा आएको भन्दै त्यसमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका थिए ।

देउवाले उक्त घट्नाको छानवीन नभएसम्म सदन चल्न नसक्ने चेतावनी समेत दिएका थिए । ओलीले भने मिडियामा आएको मात्र विषयलाई लिएर सदन अवरुद्ध गर्दा हरेक वर्ष समस्या दोहोरिरहने भन्दै देउवाको प्रस्तावलाई अस्वीकार गरेका थिए।
प्रकाशन मिति–२०७३ साल जेठ १७ गते सोमवार ।