काठमाडौ। भारतको त्रिपुरा राज्यमा हिंसा भड्किएको छ। कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो।

बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक लेनिनको शालिक तोडफोड गरेका छन्। त्रिपुरा राज्यका एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको बताए।

त्यसक्रममा प्रहरीले डोजरसहित चालकलाई पक्राउ गरेको छ। लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु प्रतिकारमा उत्रिएका छन्। चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र मारपीट भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्रिपुरामा वाम सरकारको २१ वर्ष पुरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो। ११ दशमलव ५ फिट अग्लो शालिक बनाउन ३ लाख रुपैयाँभन्दा बढी लागेको थियो।

यो राज्यमा २५ वर्षदेखि कम्युनिस्ट पार्टी सिपीआई (एम) सत्तामा रहँदै आएको थियो। तर हालै भएको विधानसभा निर्वाचनमा भने भारतीय जनता पार्टीले बहुमत ल्याएको छ । हिँसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

( भारतीय समाचार एजेन्सीको सहयोगमा )
प्रकाशन मिति–२०७४ साल फागुन २३ गते बुधवार ।