काठमाडौ। नेपाली चलचित्र उद्योगमा विगत ४५ बर्षदेखि निरन्तर कार्यरत कलाकार तथा कला निर्देशक जुंगे भट्टराईलाई दिदैआएको कलाकारबृति नदिएको पर्दाफास भएको छ। प्रति महिना नगद ५ हजारको दरले कलाकारबृति चलचित्र विकास बोर्ड प्रदान गरिदैआएकोमा जुंगे भट्टराईलाई नदिएको तीन बर्ष भएको खुलासा भएको छ।

दुई बर्षसम्म लगातार कलाकारबृति दिइएतापनि एकाएक जुंगे भट्टराईलाई चलचित्र विकास वोर्डले त्यस बृति दिन रोक्का गरेको हो। तीस बर्षभन्दा नेपाली चलचित्रमा लगातार योगदान दिदैआएका चलचित्रकर्मीलाई कलाकारबृति प्रदान गर्ने योजना मुताविक जुंगे भट्टराई लगायत केही कलाकारलाई उक्त कलाकारबृति दिइएको थियो। त्यस कलाकारबृति रोकिएको पनि तीन बर्ष भैसकेकोमा दिनेतर्फ चलचित्र विकास वोर्डले कुनै चासो नदिएको गुनासो कलाकार जुंगे भट्टराईको रहेको छ।

उमेरको हकमा ६२ बर्ष पुगिसकेका जुंगे मासिक नगद ५ हजार धेरै नभएतापनि कलाकारबृति नेपाल सरकारको तर्फवाट पाउंदै आएकोमा यतिका बर्ष नेपाली चलचित्र क्षेत्रमा लाग्दाको पेन्सनको रुपमा आफूले लिएको र तीन बर्षयता त्यो पेन्सन नपाउंदा भने साह्रै नरमाइलो लागेको प्रतिक्रिया व्यक्त गरेका छन्। जुंगे हिसाव गर्दै चलचित्र विकास बोर्डसंग तीन बर्ष अर्थात ३६ महिनाको नगद १ लाख ८० हजार लिन बाँकी भैसकेको हिसाव देखाउंछन्।

कलाकारको बृति विकासका लागि मासिकबृतिले ठोस मदत गरेको भएतापनि तीन बर्षदेखि जुंगे भट्टराई लगायतका कलाकारहरुको मासिकबृति रोकिनु राम्रो भने होइन्। चलचित्र विकास बोर्ड भने, यस विषयमा मौन रहेको छ। चलचित्र विकास बोर्डमा बोर्ड अध्यक्ष हाल नियुक्त नभएको अवस्था भएकोले पनि कलाकार बृति रोक्का भएको बारेमा कोही अधिकारी मुख खोल्ने पक्षमा रहेका छैनन्। बोर्डको अध्यक्ष नियुक्त भएर आएपछि मात्र यस बारेमा कार्यन्वयन हुने अपेक्षा गरिएको छ।

Mr.Junge Bhattarai with his lovely Daughtor M/s Uttara Bhattarai

उमेरको हकमा ६२ बर्ष पुगिसकेका कलाकार जुंगे भट्टराईले सारा समय नेपाली चलचित्र उद्योगलाई दिएको कारण रोजीरोटीको लागि खासै कुनै आधार नभएको कारण मासिक ५ हजार कलाकारबृतिले आफूलाई केही मदत गरेको भएतापनि हाल त्यो पनि नपाउंदा साह्रै निराशा उत्पन्न भएको भनेका छन्।

यदाकदा चलचित्रमा अभिनय गर्नुको अलावा चलचित्रमा आवश्यक कलाकृति बनाउने कार्यमा जुंगे भट्टराई जीवनको उत्तरार्धमा पनि जीउनुको बाँध्यतामा ब्यस्त बनिरहेका छन्। कलाकारलाई मरेपछि सम्मान दिइनुभन्दा बाँचुञ्जेल नै मासिकबृति दिएर सम्मान गर्नुपर्दछ भनेर जुंगे भट्टराईले माग गरेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।