काठमाडौ। दुई दिन अघि नेपाल प्रहरीले काठमाडौका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका नक्कली डाक्टरहरु अधिकांश चीनवाट आएका चीनिया रहेको खुलासा भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका मध्य १३ जना चीनिया, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको भनेको छ।

नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँच वटा निजी अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरिएको थियो। उनीहरुले नेपालमा काम गर्न अनुमति नलिएको र मेडिकल काउन्सिलले लिने परीक्षा पनि पास नगरेको पनि प्रहरीले जनाएको छ।

सीआइबीले एपोलो अस्पताल, ठमेलका सञ्चालक मीना कुमारी श्रेष्ठ सहित ८ जना चीनिया नक्कली डाक्टर पक्राउ गरेको थियो भने सीआईडब्लूईसी अस्पतालबाट अष्ट्रेलियन र अस्पताल सञ्चालक प्रतिभा पाण्डेलाई पक्राउ गरेको थियो।

चाइना ग्रेट वाल हेल्थ सेन्टर, बौद्धबाट दुई चीनिया डाक्टर र सञ्चालक नारायण तिमिल्सिनालाई पक्राउ गरिएको र चाइना पिपुल अस्पताल बौद्धबाट दुई चीनिया र चाइना डेन्टल हस्पिटलबाट एक चीनियालाई पक्राउ गरिएको थियो। उनीहरुलाई ठगीको अभियोगमा अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल माघ १७ गते बुधवार ।