काठमाडौ। खानेपानीको अभावको कारण सधैजसो काकाकुल हुने गरेको काठमाडौ उपत्यकामा मेलम्चीको खानेपानी आउने भएको छ। यही दशैंसम्ममा काठमाडौमो मेलम्चीको खानेपानी ल्याउने व्यापक तयारी भैरहेको मेलम्ची खानेपानी आयोजनाको भनाई रहेको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दशैसम्म काठमाडौ उपत्यकामा खानेपानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

Melamchi Riverनिर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो । दैनिक २० मिटरको दरले सुरुङ खन्ने कार्य जारी रहेको र हाल विभिन्न चार स्थानबाट नियमित रुपमा काम भइरहेको छ ।

हाल सुरुङ खनिइरहेको स्थानमा कमजोर चट्टान भएका कारण द्रुत रुपमा सुरुङ खन्न अप्ठ्यारो परेको भए पनि निर्माण व्यवसायीले योजनाअनुसार नै काम गरिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आइतवारको बैठकमा जानकारी दिएका छन्।

उनका अनुसार कुल २७ किलोमिटर लामो सुरुङमध्ये दुई हजार ३०० मिटर मात्रै सुरुङ बाँकी रहेको, ठेकेदारले योजनाअनुसार नै काम गरेको, कुनै समस्या आए तत्काल समाधान गर्ने गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचरण देवकोटाले सिन्धुको माथिल्लो भागमा नरम चट्टानका कारण केही जटिलता पैदा भएकाले विस्फोटन गर्न नसकिएको बताए।

यस्तै मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौँबासीले खेप्नु परेको हैरानीसमेत क्रमशः कम गर्दै जाने सचिव उपाध्यायको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मेलम्ची आयोजनाले भत्काएको सडक कालोपत्र गर्ने कार्य युद्धस्तरमा अगाडि बढेको उल्लेख गरेका छन्। मेलम्ची आयोजनाबाट तत्काल दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने र हाल विभिन्न स्रोतबाट प्राप्त भइरहेको ११ करोड लिटर पानीले राजधानीबासीलाई थप सहजता प्रदान गर्ने उनको भनाइ छ।
प्रकाशन मिति–२०७४ साल साउन ८ गते आइतवार ।