काठमाडौ। आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको काठमाडौमा मनोनयन दर्ता सम्पन्न भएको छ। काठमाडौको निर्वाचन क्षेत्र नंबर ९ र १० बाट ६ पदका लागि ८७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

नौ नंबर निर्वाचन क्षेत्रबाट तीन पदका लागि ४१ र १० नंबाट तीन पदका लागि ४६ जनाको उम्मेदवारी दर्ता गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। क्षेत्र नं ९ मा प्रतिनिधिसभाका लागि १४ र प्रदेश ‘क’बाट १४ र ‘ख’बाट १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिएका छन्। यस्तै १० नं क्षेत्रबाट प्रतिनिधिसभाका लागि १६ जना तथा प्रदेश ‘क’ र ‘ख’बाट १५–१५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले भनेका छन्।

प्रतिनिधिसभाका लागि क्षेत्र नं ९ बाट वाम गठबन्धनको नेकपा एमालेबाट कृष्णगोपाल श्रेष्ठ र कांग्रेसबाट ध्यानगोविन्द रञ्जितले उम्मेदवारी दर्ता गराएका छन्। सोही क्षेत्रको प्रदेशसभाका लागि वाम गठबन्धनबाट ९ ‘क’ मा नेकपा एमालेका डा.अजयक्रान्ति शाक्य र ‘ख’मा एमालेकै केशव पोखरेल तथा नेपाली कांग्रेसबाट ‘क’मा इन्द्रमान तुलाधर र ‘ख’ धर्मराज गौतमले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी १० नं निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट नेकपामाओवादी केन्द्रका हितमान शाक्य र कांग्रेसबाट राजनकुमार केसीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत आचार्यले बताएका छन्। प्रदेशसभाका लागि वाम गबन्धनबाट १० ‘क’मा माओवादी केन्द्रबाट दिलीप महर्जन र ‘ख’मा एमालेका रमा आले तथा कांग्रेसबाट ‘क’मा पुकार महर्जन र ‘ख’ धर्मानन्द श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १६ गते विहीवार ।