Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City
Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

काठमाडौ। काठमाडौ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई वरिष्ठ ज्येष्ठ नागरिककारुपमा सम्मानस्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको बैठकलेउक्त निर्णय गरेको हो।

घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदयअगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । मेयर शाक्यले काठमाडौ महानगरपालिकाको सरकारी कामकाजको भाषाकारुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरेका छन्। संयुक्त राष्ट्रसंघमा नेपालको पहिचानकारुपमा सूचीकृत भएको रञ्जना लिपीलाईसमेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याडमा प्रयोग गरिने भएको छ ।

दुई वर्षअघिको भूकम्पबाट पीडित महानगरवासीलाई निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको व्यवस्था गरिने पनि महानगरले निर्णय गरेको छ।

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरघरमै चिकित्सक पठाइने र काठमाडौं महानगरमा स्थान पहिचान गरी आवश्यक संख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय पनि गरिएको छ । महानगरलाई २४ घन्टा खुला जीवन्त सहरकारुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने पनि मेयर शाक्यले भनेका छन् ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १७ गते बुधवार ।