–गोपाल ढकाल (मनोविद्)
१.सुरक्षाका उपाय अपनाउनु पर्छ ः
कोरोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइसाथ अवलम्बन गर्नुपर्छ । भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने । यसो गर्दा संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफू सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

२.कोरोनासँग लड्न मानसिक रुपमा तयार हुनुपर्छ ः
यो प्रकृति विपत्ति भएकोले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो। यसकारण यसलाई स्वीकार गर्नुको बिकल्प छैन । कथम कदाचित संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ । यसले हामीलाई संक्रमणसँग जुझ्न सहज बनाउछ। कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

३.परिस्थिति प्रति सकारात्मक धारण ः
समय सधै एकैनास हुदैन । अहिलेको समय कठिन भए पनि एक दिन अबस्य टरेर जान्छ । भागवत गितामा भने झै ’जे हुन्छ राम्रो कै लागि हुन्छ ।’ त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोवल उच्च राख्दा आत्मविश्वास र धौर्यता दुवै बढेर जान्छ । यस्तो बेला आत्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ । कोरोनाको संक्रमण भएपनि मरिन्छ नै भन्ने हुदैन । कोरोनाको संक्रमणका कारण हुने मृत्युदर अत्यन्त न्यून छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४.हौसला तथा प्रेरणा ः
विपत्तको समयमा हौसला र प्रेरणा अति आवश्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मियताले विपत्तिसँग जुझ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने ब्यक्तिहरुसँग आफ्नो मनका भावनाहरु बाँड्ने गर्नुपर्छ । विपत्तको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ । आफूले आफैलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ’म ठिक छु, स्बस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सवल पक्षहरु लेख्ने, मनन वा उजागर गर्नेले पनि आत्मबल बढ्छ ।

५.मनोसामाजिक सहयोग ः
विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समय सम्मको मनोबैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले ब्यक्तिको आत्मबल र आत्मबिस्बासलाई कमजोर बनाउन सक्छ । यस्तो अबस्थामा भौतिक सहयोग मात्र प्रयाप्त हुदैन । मनोबैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिक रुपमा स्बस्थ ब्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६.तनावको ब्यबस्थापन ः
तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल वनाउछ । विपत्ति समयमा तनाव बढ्ने नै भयो। नियमित रुपमा योग– ध्यान, ब्यायम गर्ने, गहिरो श्वासप्रश्वासको अभ्यासहरु गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, प्रयाप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ । जसले तनाव कम गर्न मद्दत पु-याउछ । ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७.आनन्दायक क्रियाकलाप ः
कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका बिषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । जस्तो आफूलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगित सुन्ने, लेख्ने, आफ्नो आस्था बिश्वास अनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता बिषयमा सकृय हुनाले एक त समयको सदुपयोग हुने भयो अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफूले दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने गर्नु पर्छ । नत्र खाली दिमाग सैतानको घर हुन जान्छ । आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको बिकास हुनुका साथै आत्मबल समेत बढ्छ ।

८.सकारात्मक जीवनशैली ः
कोरोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले ब्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएकोछ । तनावको बेला ब्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ । सकारात्मक जीवन शैली अपनाएको खण्डमा ब्यक्ति चाडै पूर्व अबस्थामा फर्कन सक्छ । आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर नकारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ । हाम्रो दैनिक जीवनशैली र क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९.सत्यतथ्य सूचना र जानकारी ः
विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ। तनावको वेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमि आउँछ । हामी भावनामा बग्न सक्छौं। यस्तो अबस्थामा हामीले तथ्यपरक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ। बिषय बस्तु र घटनालाई हेर्ने दृष्टिकोण सहि बनाउनुपर्छ । अहिले अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुदैन । यस्ता समचारहरु दिनमा १÷२ पटक भन्दा बढि नहेरेकै राम्रो हो । दुखद समाचारहरु हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ । तनाब बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०.सीप, तालिम र शिक्षा ः
कुनै पनि बिषयमा आवश्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अबस्य बढ्छ नै । कोरोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्वहेरचाहका बिषयमा जानकारी तथा सरसफाइ लगायत अन्य बिषयको तालिमले आत्मबल बढाउन मदत गर्छ ।

Photo Modeling by Nishan Budhathoki (Communication Officer-Mahila Shakti Bikash Kendra Nepal)

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ २ गते आइतवार ।